काठमाडौं । हाल बेलायतमा बस्दै आएकी मिसेस नेपाल युनिभर्स शन्नी शाहीले अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा सफलता हासिल गरेकी छिन् । केही महिनाअघि मिसेस नेपाल युनिभर्सल २०२२ ताज जितेपछि उनी हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी भएकी थिइन् ।
विवाहित महिलाहरुको सोही अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा यी सुन्दरीले ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी हुन् । उनी नेपालको प्रतिनिधित्व गर्दै सो सौन्दर्य प्रतियोगितामा सहभागी भएकी हुन् । ४०औं मिसेस युनिभर्स २०२२ मा १२० देशका महिलाहरु प्रतिस्पर्धामा उत्रिएका थिए । बिजेतासहित एक दर्जन उपाधि थिए । जसमा नेपालकी शन्नीले ‘मिसेस युनिभर्स लोयल २०२२’को टाइटल जितेकी हुन् ।
मिसेसहरुबाट नेपालले यती ठूलो उपाधि जितेको यो नै पहिलो भएको दाबी गरिएको छ । बेलायतबाटै उनले मिसेस युनिभर्स २०२२ मा सहभागी हुने अबसर पाइन्, ‘शीर्ष उपाधि नै जित्ने तयारीका साथ म प्रतिस्पर्धामा उत्रिएकी थिएँ । शीर्ष नभए पनि एउटा टाइटल मिसेस युनिभर्स लोयल २०२२ जितेकी छु र नेपाललाई मिसेस युनिभर्सको स्टेजमा चिनाएकी छु,’ शन्नीले भनिन् ।
अन्तर्राष्ट्रिय उपाधि चुमेपछि बेलायतबाट यतिबेला काठमाडौं आएकी उनी नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम बाँसुरी खलबाट सम्मानित पनि भएकी छिन् ।
लन्डन फेशन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा १७ जनालाई उछिनेर शन्नीले शीर्ष उपाधि जितेकी थिइन् । अहिले भने मिसेस युनिभर्समा ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि चुमेकी हुन् । काठमाडौंको असनमा जन्मिएकी उनी ब्युटी एक्सपर्ट पनि हुन् । उनको लन्डनमा व्युटीसम्बन्धी व्यवसाय छ । दुई छोरीकी आमा शन्नी विवाहपछि पनि महिलाहरुले आफूले चाहेको सफलता हासिल गर्न सक्ने बताउँछिन् ।