‘को–हजबेण्ड’ले पायो एक करोड ३० लाख रुपैयाँको सहयोग

रंग नेपाल २०८० वैशाख १९ मा प्रकाशित

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेण्ड)ले जापानमा १ करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गर्न सफल भएको छ ।

पत्रकार गणेश पाण्डेले निर्देशन गरेको को–हजबेण्डले जापानको क्युसु सहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा १ लाख अमेरिकी डलर (१ करोड ३० लाख नेपाली रुपैयाँ बराबर)को फिल्म फन्डिङ जितेको हो । को–हजबेन्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जितेको छ ।

मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हसबेण्डले यो पुरस्कार जितेको हो । अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हसबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

 ‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली डकुमेन्ट्रीले एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो’ निर्देशक पाण्डेले भने । निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो । ‘यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्कन मलाई मद्दत मिल्नेछ’ उनले भने ।

यसैगरी, को–हजबेन्डले क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । क्यानडाको नर्थवे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को–हजबेन्डले उत्कृष्ट पुरस्कार पाएको हो ।

काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ)बाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्डका जितेको थियो ।

यसैगरी, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सवमा ‘एडिम क्रियटिभ पुरस्कार २०२१’, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट डकुमेन्ट्री अवार्ड’ र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’, स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

साइन मिडिया प्रालिको ब्यानरमा बनेको यो वृत्तचित्रको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् ।

यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् भने संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका थिए ।

यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकस् हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट