सबै भ्रष्टाचारीलाई कारबाहीका लागि जनदबाब आवश्यक छ: दिपकराज गिरि

रंग नेपाल २०८० जेठ २ मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै दबाबमा नपरेर दोषीलाई कारबाही गर्नुपर्ने भन्दै युवाहरुको एक समूहले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राम्रो काम गर्ने प्रहरी प्रशासनलाई धन्यवाद दिदै उनीहरुले कुनै दबाबमा नपरेर दोषीलाई कारबाही गर्नुपर्ने जनाएका छन् । काठमाडौंको माइतीघरमा प्रदर्शनमा आएका युवाहरुले ‘नछोड्नु है दोषीलाई दबाबमा, नपरेरै कसैको प्रभावमा’, ‘फेरि पनि भन्दैछौँ बारम्बार, रोकौँ भ्रष्टाचार’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी कलाकार दिपकराज गिरिले भ्रष्टाचारलाई अन्त्य गर्नका लागि सबै नागरिकहरुले दवाव सिर्जना गर्नुपर्ने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई उन्मुक्ति दिन नहुने र यसका लागि राज्यलाई निरन्तर दबाब दिनुपर्ने जिकिर गरे ।

‘सबै भ्रष्टाचारीलाई कारबाहीका लागि जनदबाब आवश्यक छ । त्यसैका लागि हामी युवाहरू यहाँ आएका छौँ,’ कलाकार गिरिले भने, ‘यस्तो बेला म कहाँ छु, को हुँ भन्ने भन्दा पनि सामूहिक रुपमा दबाब सृजना गर्न जरुरी छ । जसका कारण भ्रष्टाचारी उम्किन नपाओस् ।’ सबै जना यो देशको नागरिक भएकाले भ्रष्टाचारविरुद्धको दबाब अभियानमा सबैको दायित्व हुने उनको भनाइ छ ।

धेरै पढिएका

पछिल्ला अपडेट