दीलिप रायमाझीकी छोरी दिव्या पनि अब हिरोइन

रंग नेपाल २०८० जेठ ७ मा प्रकाशित

काठमाडौं । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी पनि अब चलचित्रमा देखिने भएकी छिन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी दिव्याले सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको चलचित्र ‘वरिष्ठ बलराम’बाट नायिकाको रुपमा डेब्यू गर्न लागेकी हुन् ।

चलचित्रमा अभिनय गर्नकै लागि उनी केही समयभित्र नेपाल आउने तयारीमा छिन् । उनी नेपाल आएपछि निर्माण टीमसँग लिखित सम्झौता हुने बताइएको छ । चलचित्रको पटकथा खगेन्द्र स्वयम्ले तयार पारेका छन् ।

सम्भवत: आगामी दशैंपछि छायाङ्कन सुरू गरिने चलचित्रमा उनले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्ने भएकी छिन् । दिव्याको सुन्दरताबारे विभिन्न मिडियाहरूमा हुने गरेको चर्चाकाबीच दिव्या र खगेन्द्रको जोडी पर्दामा हेर्न दर्शकलाई निकै रोचक हुने अनुमान छ ।

धेरै चलचित्रबाट अफर आए पनि अध्ययनका कारण दिव्याले अफर स्वीकार गर्न सकिरहेकी थिइनन् । ‘इन्फो टिच प्रोजेक्ट म्यानेजमेन्ट’मा स्नातकोत्तर पूरा गरेकी उनी अमेरिकामा आईटी क्षेत्रमा काम गरिरहेकी छिन् । उनी नेपाल आएपछि चलचित्रबारे कोर्ष गर्ने तयारीमा पनि छिन् ।

उनले यो चलचित्रबाट १० लाख रुपैयाँ पारिश्रमिक पाउने निर्माणपक्षको भनाइ छ ।

धेरै पढिएका

पछिल्ला अपडेट