‘आ बाट आमा २’मा विपना, पलपछि आकाश अनुबन्धित

रंग नेपाल २०८२ चैत १७ मा प्रकाशित

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’मा आकाश श्रेष्ठ अनुबन्ध भएका छन् । उनलाई निर्माण टिमले सोमबार फिल्मका लागि अनुबन्ध गरेको हो ।

फिल्मका निर्देशक पन्तले आकाशलाई फिल्मको महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेको जानकारी दिए । उनले भने, ‘हामीले फिल्मको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ । यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित गरिसकेका छौँ ।’

आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मका लागि विपना थापा, पल शाहका अलवा आकाश श्रेष्ठ रहनेछन् । यस बाहेक अन्य कलाकारको बारेमा निर्माण पक्षले केही खुलाएको छैन । बैशाखबाट छायांकनमा निस्किने तयारीमा रहेको यस फिल्मको कथा निर्देशक पन्तले नै लेखेका हुन् ।

हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’ले १३ करोडभन्दा माथीको व्यापार गरिसकेको छ । पहिलो भाग सुपरहिट भएपछि निर्देशक पन्तले यसको दोस्रो पार्ट निर्माण गर्न लागेको हुन् । पार्ट वानमा विपना थापा आमाको भूमिकामा रहेकी छिन् भने अभिनेता पल शाह छोराको भूमिकामा रहेका छन् । साथै, बुवाको भूमिकामा भारतिय वरिष्ठ कलाकार प्रदीप रावत रहेका छन् । दोस्रोमा हुन्छन् कि हुँदैनन् भन्ने कुरामा निर्माण पक्षले जानकारी दिएको छैन् । अन्य कलाकारका बारेमा निर्देशक पन्तले विस्तारै खुलाउँदै लैजाने बताए ।

आगामी नयाँ वर्ष अर्थात बैशाखबाट छायांकनमा जाने यस फिल्मको प्रदर्शन दशैंमा रिलिज गर्ने निर्माण पक्षको तयारी छ । फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट