
काठमाडौं । बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र नेपाली चलचित्रका महानायक राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ ।
चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को अन्तरक्रियात्मक कार्यक्रमअन्तर्गत रहेर निर्देशक सिप्पी र महानायकबीच संवाद हुन लागेको अध्यक्ष केपी पाठकले जानकारी दिए ।
निफको दोस्रो दिन पर्यटन बोर्डमा दिउँसो ३ बजे यी दुईबीचको संवाद कार्यक्रम तय भएको आयोजकले बताएको छ । यी दुईको संवाद कार्यक्रमको शीर्षक ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ राखिएको छ ।
नेपाली र बलिउड चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा यी दुईले कुराकानी गर्ने तय भएको अध्यक्ष पाठकले बताए ।
उनले भने, ‘दुई लेजेन्डहरूको अनुभव, उनीहरूको भोगाइ र सिनेमाको भविष्यका विषयमा उहाँहरूले संवाद गर्ने तय भएको हो । निफमा लिजेन्ड निर्देशक सिप्पीको उपस्थितिले बलिउड उद्योग र नेपाली चलचित्र क्षेत्रको सम्बन्ध थप विस्तार हुने अपेक्षाले यो कार्यक्रम राखिएको हो ।’
निफको उद्घाटन कार्यक्रममा विशेष उपस्थिति रहने गरी निर्देशक सिप्पी चैत १८ गते काठमाडौं आउने तय भएको आयोजकले बताएको छ ।
रमेश सिप्पीले दर्जनभन्दा बढी बलिउड फिल्म निर्देशन गरेका छन् । बलिउडमा काशेढुंगाका रुपमा सावित भएको फिल्म ‘शोले’ उनकै निर्देशनमा बनेको हो ।