‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा

रंग नेपाल २०८० जेठ ९ मा प्रकाशित

काठमाडौं । समकालीन कवि कृसु क्षेत्रीद्वारा लिखित ‘चराको गीत’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सगरमाथाको शिखरमा लोकार्पण गरिएको छ ।

राइनास-२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चार पटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही जेठ ३ गते गरेको सगरमाथा आरोहणमा आफूलाई मन परेको कृतिका रूपमा पहिलोपटक ‘चराको गीत’ शिखरबाट लोकार्पण गरेको बताए ।

आरोहणका क्रममा ‘चराको गीत’का कविताले आफूलाई सहज बनाएको उनले अनुभव सुनाए । सगरमाथामा लोकार्पण भएको पहिलो नेपाली कविता सङ्ग्रहका रूपमा ‘चराको गीत’ले आफ्नो नाम अङ्कित गरेको र त्यसमा आफूले भूमिका निर्वाह गर्न पाएकोमा अत्यन्त खुसी लागेको पर्वतारोही ठकुरीले बताए ।

चराको गीतको पहिलो संस्करण साझा प्रकाशनबाट २०७४ सालमा प्रकाशित भएको थियो । कृतिको दोस्रो संस्करण पनि साझाबाट हालै प्रकाशित भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता एवं वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहको भूमिका रहेको यो कृति नेपाली कविता फाँटमा चर्चित कृतिमध्ये एक मानिन्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट