हरिवंश आर्चायले ल्याए ‘ए केटा मादलु पड्का’

रंग नेपाल २०८० साउन १८ मा प्रकाशित

काठमाडौं । ‘काउली’को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् ।

आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।

चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमो लोक लयको काउली गीत ल्याएका हरिवंश तत्काल नयाँ गीत ल्याउने तयारीमा थिएनन् । तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज वलीलाई सुनाउँदा तत्काल यो संयोजक जुरेको बताउँछन् ।

‘अहिले नै नयाँ गीत ल्याउँला भन्ने थिएन,’ हरिवंशले भने, ‘दुइ महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरु गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखेँ । त्यहीबेला अचानक मेरो दिमागमा एउटा लय फुर्‍यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का । तैपनि पछि रेकर्ड गरौला भनेर बसेको थिएँ । यत्तिकैमा एक दिन सरोज भाइ (ओली)लाई यो गीतको शब्द र लय कस्तो छ भनेर सुनाएँ । भाइलाई मन परेछ । रेकर्ड गरिहालौं भने । एरेन्जर श्यामश्वेत रसाइली लिएर गइहाले । श्यामश्वेत भाइले पनि ‘यो रमाइलो छ, चड्किन्छ’ भनेपछि गीतले यो स्वरुप पायो ।’

गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरुको भाव बोकेको हरिवंश बताउँछन् । ‘यो सन्देशमुलक गीत होइन,’ उनी भन्छन्, ‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशा प्रति गर्व गरेको शब्द छ । गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ ।’ यद्यपि, यो गीतमा चुनावमा हुने पैसा बाँड्ने विकृतीलाई व्व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यो गीतमा ‘काउली’कै कलाकार दोहोरिएका छन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयम्ले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भिर विष्टले गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट