चलचित्र ‘ऐंचो पैँचो’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

रंग नेपाल २०८० साउन २९ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ऐंचो पैँचोको ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा राजनीतिक कथावस्तुलाई देखाइएको छ । राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ । कृषा चौलागाईंद्वारा निर्देशित यो फिल्मको ट्रेलरमा अभिनेत्री स्वस्तिमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देख्न सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै सांसद प्रेम आलेले अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको बताए । उनले आफू पनि फिल्ममा रहेको भए राजनीतिक विकृतिहरु प्रष्ट्याउने भन्दै चलचित्र राजनीतिक कथावस्तुमा राम्रो बनेको बताए ।

उनले भने, ‘यो फिल्म राजनीति सम्बन्धीका कुराहरु रहेछन्, खुशी लाग्यो । अहिले राजनीतिलाई पेशा बनाउने काम भइरहेको छ । यो फिल्ममा सबैले धेरै मेहनत गर्नुभएको छ । यसमा मलाई पनि राखेको भए राजनीतिमा भएका सत्य कुराहरु बोल्थेँ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिकर्मीहरुले फिल्मको पत्रकार सम्मेलनमा मात्रै नभइ हल गएर चलचित्र हेर्नुपर्ने बताइन् । उनले फिल्म लेखकलाई उचित पारिश्रमीक नदिने गरेकोप्रति असन्तुष्टि जनाइन् ।

उनले भनिन्, ‘राजनीतिमा रहनुभएकाहरुले फिल्म पनि हेर्नुपर्छ, प्रेस मिट मात्रै होइन, उहाँहरुले नदेख्नुभएको कुरा हामीले लेन्सबाट देखाउन सक्छौँ । फिल्म लेखकलाई राम्रो परिश्रमीक नदिने गरिएको छ । अहिले पछिल्लो समय केही हदसम्म दिने गरिएको छ ।’

फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन् । भदौको १४ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट