मर्नु र बाँच्नुको पीडा भयो: झरना थापा
रंग नेपाल
२०८० भदौ २४ मा प्रकाशित

काठमाडौं । फिल्म ‘एक भागवत् गीता’ विवादमा आएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन् ।
शनिबार मध्यरातमा सामाजिक सञ्जालमा एक भावुक स्टाटस पोष्ट गर्दै थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी हुन् । उनले फिल्ममा आफ्नो सारा श्रोत, सम्पत्ति र सपना समेत खर्चिएको बताएकी छिन् ।
फिल्म क्षेत्रमा आफू तीन दशकदेखि रहेको बताउँदै झरनाले फिल्म ‘एक भागवत् गीता’ आफ्नो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर निर्माण गरेको पनि बताएकी छिन् ।
उनले लेखेकी छिन्, ‘थाहा छैन, प्रिय दर्शकहरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन । सत्य बोलिरहँदा पनि, सहि छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएपछि अन्तिममा फैसला त भगवानले गर्नु होला नि होइन ?’
केही धार्मिक संघसंस्थाले सिनेमालाई प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि अहिले बोर्डले यही भदौ २९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक भगवत गीता’को सेन्सर सिफारिस रोकिरहेको छ ।
यस्तो छ झरनाको फेसबुक पोष्ट:
मध्यरातमा मैले आज यो लेखिरहदा खेरि धेरै जना निदाई सक्नुभएको होला , कति जना अझै निदाउनु भएको छैन होला | मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ जुन आज म महसुस गरिरहेको छु , प्रार्थना गर्छु , जो जति जना निदाउनु भएको छैन , हजुरहरु ननिदाउने कारण मेरो जस्तो नहोस |
मैले मेरो जीवनको तीन दशक अनवरत रुपमा चलचित्र क्षेत्रमा दिएँ | प्रिय दर्शक हजुरहरुको मायाले म पर्दामा छाइरहें | मैले पनि दिनरात , झरीबादल , घर परिवार नभनी हजुरहरुलाई मनोरंजन दिन अथक काम गरिरहें | सम्पूर्ण नेपाली दर्शकहरुको माया र साथको कारणले म अभिनय हुदै निर्देशनमा आइपुगेको छु | म जहाँ छु , जे छु , जस्तो छु , म नेपाली जन र नेपाली मनको आशिर्वादले छु | यहि प्रेरणाले म मेरो अन्तिम सास सम्म चलचित्रमै काम गर्छु भनेर हिंडीरहेकी छु | मेरो जिन्दगि भनेकै चलचित्र कर्म र दर्शक हरुको खुसि हो , त्यसबाहेक केहि छैन |
मैले निरन्तर चलचित्र गरिरहेको छु र निर्देशकको रुपमा हजुरहरुको माया र स्नेह निरन्तर पाइरहेको छु | यहि क्रममा समाजको केहि यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौं | चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्ण प्रतिको असिम आस्था लाई केन्द्रमा राखेर चलचित्रको नाम “एक भगवत गीता “ राख्यौं | मैले मेरो जीवन भर राष्ट्र , हाम्रो देशको इतिहास , भौगोलिक अखन्ड़ता , सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आंच आउने कर्म ऐले सम्म कहिल्यै गरेको छैन | हामीले एक भागवत गीता निर्माण पुरा गरेर अब हजुरहरुको हातमा सुम्पन तयार भैसके पछी चलचित्रको नाम माथि प्रश्न उठाइयो | हामीले उठेका प्रश्नहरुको विनम्रता पुर्वक उत्तर दियौं | हामीले हाम्रो चलचित्रमा हिन्दु पवित्र ग्रन्थ श्रीमद्भागवतगीताको कुनै पनि अवहेलना गरेका छैनौ भनेर कथाको सार नै प्रस्तुत गर्यौं | चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौं | अझ चित्त नबुझे रिलिज पुर्व चलचित्र हेर्न पनि अनुरोध गर्यौं |
प्रिय दर्शक बृन्द , मेरो आफ्नो जीवन नै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद्भागवत गीता आफैमा मेरो चलचित्र कर्मको प्रेरणा हो | म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु | बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर , श्रीमद्भागवतगीता को अवहेलना नभएको स प्रमाण बताईरहदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिईएको छैन र निर्क्योल भोलि आइतबार गरिने भनेर भनिएको छ | आफ्ना सारा स्रोत सम्पति , सपना र ऐले सम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरि चल्नै नदिने अवस्था आउदा मर्नु न बाँच्नुको पीडा भैरहेको छ | थाहा छैन हाम्रो चलचित्र हजुरहरुको आँखा सम्म आउन् पाउछ कि पाउदैन | थाह छैन , प्रिय दर्शक हरुको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउछ कि पाउदैन | सत्य बोलिरहदा पनि , सहि छु भनेर दसी प्रमाण दिईरहदा पनि कसैले न सुनिदिए पछी अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन ?
मैले मेरो फैसला मेरो भगवानको हातमा छोडीदिएको छु
प्रिय दर्शक हरु !!!!
भगवान श्री कृष्ण !!
हरे कृष्ण !!!
