‘एक भगवत् गीता’को नाम परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति

रंग नेपाल २०८० भदौ २५ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ ।

आइतबार चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दू महासंघ, शिव सेना नेपाल, विश्व हिन्दू युवा संघ, जगत्गुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको छ ।

यसअगाडिको नामले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी जागरण नेपालले बोर्डमा निवेदन दिएपछि जाँच पास रोकिएको थियो । सहमति जुटेसँगै जाँचपासको प्रक्रियासमेत अगाडि बढेको छ । दुई पक्ष बीचमा देखिएको विवादलाई मिलाउन बोर्डले अभिभावकीय भूमिका निर्वाह गरेको अध्यक्ष भुवन केसीले बताए । ‘हामीले जाँचपासका लागि सिफारिस रोकेका थिएनौँ । सहमति जुटाउने प्रयास मात्र गरेका हौँ । सहमति नभएको भए भोलि ठूलो दुर्घटना पनि हुन सक्थ्यो’, बोर्ड अध्यक्ष केसीले भने ।

निर्माता सुनिलकुमार थापाले चलचित्र परिवर्तित नामसँगै घोषित मिति २९ भदौदेखि प्रदर्शन हुने जानकारी दिए । उनले भने, ‘सबैको भावनाको कदर गर्दै नाम परिवर्तन गरेर प्रदर्शन गर्दैछौँ । चलचित्रले कुनै धर्म वा समुदायलाई ठेस पुर्‍याएको छैन ।’

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट