‘मायाबी’को छायांकन सम्पन्न

रंग नेपाल २०८० मंसिर १७ मा प्रकाशित

काठमाडौं । दशैं अघिबाट सुरु भएको चलचित्र ‘मायाबी’को छायांकन सम्पन्न भएको छ । यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । शनिबार दिउँसो यो चलचित्रका मुख्य कलाकार र प्राविधिकहरुले इन्ड क्ल्याप गरेका थिए । करिब एक वर्ष कैद जीवन बिताएर रिहा भएपछि यही चलचित्रबाट अभिनेता पल शाह फिल्मी अभिनयमा फर्किएका हुन् ।

मुस्ताङबाट छायाँकन सुरु भएको यो चलचित्रको पोखरामा छायाँकन सम्पन्न गरिएको निर्देशक भट्टराईले जनाएका छन् । यो चलचित्रको दुई चरणमा गरेर छायांकन सम्पन्न गरिएको छ ।

चलचित्र मायावीमा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्मको छायांकन सकिएसँगै निर्देशक भट्टराई निकै उत्साहित छन् । उनले, यो फिल्म आफ्ना लागि पनि विशेष हुने र नायक पल शाहको करिअरलाई भने नयाँ उचाई दिने बताएका छन् । फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । यो फिल्मको कथा पोखरा केन्द्रित रहेको निर्देशक भट्टराईले जनाएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट