युवामा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना जगाउनुपर्छ : केपी ओली

रंग नेपाल २०८० चैत २ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा केही हुँदैन भन्ने मानसिकता विकास हुँदा युवा पलायन बढेको बताएका छन् ।

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सिनेमा संवाद कार्यक्रम अन्तर्गत शुक्रबार नायक राजेश हमालसँगको संवादमा ओलीले युवालाई देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास जगाउन आवश्यक रहेको बताए । ‘युवामा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना, गर्न सकिन्छ भन्ने विश्वास, गर्न सक्छौँ भन्ने आत्मविश्वास दिलाउनुपर्छ ।’ उनले भने ।

युवाको विदेश पलायन रोक्नु आजको मुख्य चुनौती भएको ओलीले बताए । धेरै नेपाली युवा विदेशमा नै बस्ने गरी पलायन हुँदै गएको बताए । अध्ययनका लागि बाहिर गएका धेरै नेपाली युवा स्वदेश फर्कने मनस्थितिमा नरहेको ओलीको भनाइ छ ।

ओलीले कुनै पनि देश त्यतिकै धनी नहुने बताए । देश विकास गरेरै धनी हुने उनले प्रष्ट पार्नुभयो । देश विकासको लागि देशमा नै परिश्रम गर्नुपर्नेमा उनले जोड दिए ।

देश विकासको लागि देशवासीले नै पसिना बगाएको उनले स्पष्ट पारे । ‘युवा पङ्क्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ, अनि मात्र विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्ने कुरा बुझाउनु पर्छ ।’ ओलीले भने ।

युवालाई देशमा नै काम गर्ने वातावरण भने राज्यले बनाउनु पर्ने बताए । राज्यले देशमा उद्यमशीलताको वातावरण बनाइदिनु पर्ने ओलीको धारणा छ ।

धेरै पढिएका

पछिल्ला अपडेट