देशभर रिलिज भयो ‘मोदीबेनी’ : पहिलो दिन सयभन्दा धेरै शो प्राप्त

रंग नेपाल २०८१ साउन १८ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘मोदीबेनी’ प्रदर्शनमा आएको छ ।

देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शोहरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए । यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले रिलिज गरेको हो ।

रिलिजको दुई दिन अघि बुधबार ‘मोदीबेनी’को प्रिमियर शो आयोजना गरिएको थियो । एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रमा यसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहित बनाएको थियो । चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो ।

शंकर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा शिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको जोडीलाई रुचाइएको छ भने रेजिना उप्रेतीको नौ वर्षपछिको कमब्याकको पनि तारिफ गरिएको छ ।

यो चलचित्रमा वर्षा, अमर, रेजिनाको साथमा, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतमलगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता छन् । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ ।

चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट