काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ । यसको निर्माणपक्षले फिल्मका लागि अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको हो ।
एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा दीपा शाही र सरोज खनाल अनुबन्धित भएका छन् । निर्माणपक्ष र उहाँहरुबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा दीपा र सरोजको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन ।
यही फिल्मबाट ८ वर्षपछि महानायक राजेश हमाल कमब्याक गर्दै छन् । आठ वर्षभन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जसकारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।
फिल्म ‘क्याप्टेन’पछि दिवाकरको फिल्ममा सरोजले अभिनय गर्न लागेका हुन् । फिल्ममा हमालपछि यसअघि नै निती शाह, सनिशा भट्टराई अनुबन्धित भइसकेका छन् । सनिशाको यो दोस्रो फिल्म हो । उनको डेब्यू अभिनय रहेको फिल्म १२ गाउँ फूलपातीमा रिलिज हुँदैछ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायांकनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।
निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।