काठमाडौं । काठमाडौंको बौद्धस्थित हयात होटलमा शनिबार आयोजित एक च्यारिटी कार्यक्रममा बलिउड अभिनेत्री नोरा फतेहीले आकर्षक नृत्य प्रस्तुति दिइन् ।
‘ह्युमन रेस्पेक्ट नेपाल’ नामक संस्थाको सहयोगार्थ आयोजित कार्यक्रममा नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतले पनि प्रस्तुति दिएका थिए ।
कार्यक्रमको दौरान नोराको नृत्य र गायनले सबैलाई मन्त्रमुग्ध बनायो, जसका कारण धेरै नेपाली कलाकार र दर्शकहरू पनि नाचे । यही क्रममा एक विशेष क्षण त्यतिबेला सिर्जना भयो जब नोराले भ्वाइस अफ नेपालका विजेता प्रोसेस पाण्डेलाई अँगालो हालिन् ।
यो अविस्मरणीय क्षणलाई प्रोसेसले आफ्नो टिकटकमा शेयर गरे । उनले भावुक हुँदै क्यापसनमा लेखे, ‘के चाहियो र योभन्दा…’ यो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कार्यक्रमको यो क्षण प्रोसेसका लागि अविस्मरणीय रह्यो, जहाँ प्रोसेसले आफ्नो नृत्य र लुक्सले सबैलाई प्रभावित पार्ने नोरा फतेहीको अँगालो पाए ।