‘सुम्निमा’मा अनुप विक्रम अनुबन्धित

रंग नेपाल २०८२ साउन ८ मा प्रकाशित

काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन् ।

यो चलचित्र मार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो । यसअघि दुबैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’मा सँगै काम गरिसकेका छन् । ‘लिली बिली’ पछि सात वर्षपछि पुनः सहकार्य हुन लागेको हो ।

शाहीका अनुसार ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नभोगेको नयाँ खालको चरित्र निर्वाह गर्नेछन्, जसका लागि उनी हाल तयारीमा जुटेका छन् ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो चलचित्रको नाम सुन्दा नारीप्रधान लागे पनि फिल्म विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले जानकारी दिए ।

चलचित्रमा मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन पहिले नै अनुबन्धित भइसकेका छन् । अन्य कलाकार तथा प्राविधिक टोलीको चयनको काम अझै जारी रहेको चाम्सले बताए ।

राजीव थापाको लेखनमा बन्ने यो चलचित्रको छायांकन आउँदो अगस्टमा लन्डन र नेपालमा हुने बताइएको छ ।

यस्तै, चाम्स निर्देशित बायोपिक चलचित्र ‘अञ्जिला’ले ब्लकबस्टर व्यापार गर्दै नेपाली बायोपिक विधामा सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको कीर्तिमान राखेको छ ।

‘सुम्निमा’लाई पनि अन्तर्राष्ट्रिय बजारलाई लक्ष्य गरेर तयार पारिने निर्देशक चाम्सको भनाइ छ ।

धेरै पढिएका

पछिल्ला अपडेट