काठमाडौं । चर्चित अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’मा अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको जानकारी गराएको हो ।
यसअघि नै फिल्मका लागि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका थिए । अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको विश्वास छ । यस फिल्मका लागि अन्य कलाकार पनि फाइनल गर्ने क्रम जारी रहेको निर्देशकले बताएका छन् ।
फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माणमा सुपरहिट फिल्म ‘घरज्वाइँ’ का निर्माता जनक घर्ती मगर छन् । निर्देशक अनिल र निर्माता जनकको यो दोस्रो सहकार्य हो ।
फिल्मको सिनेमाटोग्राफी शिशिर बिशङ्खेले सम्हाल्ने छन् । ‘जिएम मुभिज प्रोडक्सन प्रालि’को ब्यानरमा निर्माण हुने यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने तयारीमा छ ।
निर्माण पक्षका अनुसार फिल्म यसै वर्षको चैत २७ गते प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ । कलाकारहरूको बलियो संयोजन र नयाँपनले भरिएको कथाले गर्दा ‘मितज्यू’ नेपाली फिल्म बजारमा बहुप्रतीक्षित प्रोजेक्टको रूपमा हेरिन थालेको छ ।