‘परालको आगो’मा सौगात मल्ल अनुबन्धित

रंग नेपाल २०८२ साउन १७ मा प्रकाशित

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्मका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन् ।

निर्माण टिमका अनुसार सौगात फिल्ममा मुख्य पात्र ‘जुठे धमाई’को भूमिकामा देखिनेछन् ।

सौगात अनुबन्धसँगै फिल्म ‘परालको आगो’को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ । निर्माता सुशील पोखरेलको लगानीमा बन्ने यस फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्ध भइसकेका छन्।

त्यसैगरी, फिल्मको गीत–संगीत पक्षमा पनि सशक्त टोली रहने निर्माण टिमले जनाएको छ । गीत लेखनमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुत रहनेछन् भने संगीत वरिष्ठ संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुत रहनेछन् ।

फिल्मको कथा मैनाली कथा पुरस्कार ट्रस्टको अनुमति लिएर निर्माण गर्न लागिएको हो । फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्ने छन् भने छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दी आसपासबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ ।

निर्माता पोखरेलका अनुसार फिल्म सामाजिक सन्देश दिने उद्देश्यसहित तयारीमा रहेको छ र हाल टिम पूर्ण उत्साहका साथ काममा जुटेको छ । यो फिल्मको छायांकन संकल्प भुजेलले गर्दैछन् ।

रामजी लामिछाने नृत्य निर्देशक, सुशील देवकोटाको लेखन र सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिंग, संकल्प भुजेलको छायांकन र नगेन्द्र घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ यसअघि ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट