चलचित्र ‘परिवर्तन’को छायांकन सकियो

रंग नेपाल २०८२ साउन २२ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘परिवर्तन’को छायांकन वर्षाको कारण निर्धारित समय भन्दा केही ढिला सकिएको छ । यो चलचित्रलाई ४५ देखि ५० दिनमा छायांकन सक्ने लक्ष्य निर्माण पक्षको थियो । तर वर्षाले गर्दा ५६ दिनमा दुई गीत बाहेक यसको बाँकी सबै छायांकन सोमबार बेलुका सम्पन्न भएको निर्माण पक्षले जनाएको छ ।

छायांकन सकेर मंगलबार यो चलचित्रको युनिट काठमाडौं आइपुगेको छ ।

निर्माता दीपक सिवाकोटीका अनुसार चलचित्रका दुई गीतहरू बाहेक अन्य दृश्यहरूको छायांकन सोमबारबाट सकिएको हो । अब दुई महिना पछि मौसममा सुधार आएपछि यस चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको छायांकन गरिने भएको छ ।

विजय केरुङको निर्देशनमा तयार भइरहेको चलचित्र ‘परिवर्तन’को छायांकन झापाको बुद्ध शान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिकासहित विराटनगरमा गरिएको यसका निर्माता सिवाकोटीले जनाएका छन् ।

२०२८ सालमा हिरा सिंह खत्रीको निर्देशनमा चलचित्र ‘परिवर्तन’ निर्माण भएको थियो । चलचित्र रिलिज भएको पाँच दशकपछि सोही नाममा यो नयाँ चलचित्र अहिले निर्माण गरिएको हो ।

यो चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आयशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘दिब्यासी फिल्म्स प्रालि’को ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको यस चलचित्रले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो, तथा गरिब, दुःखी र असहाय जनताको पीडालाई कथानकमार्फत उजागर गर्ने निर्देशक केरुङले बताएका छन् ।

निर्माता सिवाकोटीले नै यो चलचित्रको मूल कथा लेखेका हुन् । यसमा पटकथा तथा संवाद शिवम अधिकारीको रहेको छ । यो चलचित्रको प्रोडक्सन हेडमा अरुण रेग्मी, छायांकारमा शिव ढकाल, सम्पादकमा बन्दे प्रसाद, द्वन्द्व निर्देशकमा श्री श्रेष्ठ रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट