काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन् । मंगलरबार उनलाई फिल्मको निर्माण टिमले अनुबन्ध गरेको हो । यस फिल्मकी अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा कुराकानी हुँदै आएको भएता पनि मंगलबार कागजी सम्झौता गरेको बताइन् ।
‘हामीबीच सल्लाह सुझाव भइरहेको थियो, मौखिक रुपमा हामी ओके थियो,’ दीपाश्रीलाई फिल्ममा अनुबन्ध गर्दै नीताले भनिन्, ‘मंगलबार चाहिँ फाइनल हुनु भएको छ दिदी । मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठूलो कुरा हो ।’ नीताले दीपालाई नायिकाको रुपमा अनुबन्ध गरेको बताइन् ।
फिल्ममा अनुबन्ध भएपछि दीपाश्रीले १२ वर्षअघि नीतासँगको सहकार्यलाई सम्झिइन् । ‘आजभन्दा १२ वर्षअघि अर्थात विसं २०७० सालमा ‘छ एकान छ’मा हामीलाई हेल्प गरेकी थियौ,’ दीपाले नीताको तारिफ गर्दै भनिन्,‘१२ वर्षपछि खोलो फर्कियो भने जस्तै मलाई अनुबन्ध गराएकी छौँ ‘पार्वती’मा । अहिले यो साउनको महिना, शिव पार्वती जोडिएको महिना र पार्वती जस्तो फिल्ममा लिड रोलमा मौका पाएँ । धन्यवाद छ मलाई सम्झेकोमा ।’
नीताले १२ वर्षअघि उनले आफूलाई फिल्ममा सम्झिएको र १२ वर्षपछि आफ्नो डाइरेक्टरमा दीपालाई लिन पाएकोमा खुशी व्यक्त गरिन् । दीपाश्री छक्का पञ्जा टिमकी सफल निर्देशक तथा अभिनेत्री समेत हुन् । उनले निर्देशन गरेका अधिकांश फिल्म सफल भएका छन् । त्यस कारण पनि यो फिल्ममा उनी अनुबन्धित हुँदा अर्थपूर्ण तरिकाले हेरिएको छ ।
दीपाश्री अनुबन्ध हुनुअघि यो फिल्मका लागि चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा अनुबन्ध भएका थिए । सफल अभिनेत्री तथा निर्देशक नीताले निर्देशन गर्न लागेको फिल्ममा उनी आफैं मुख्य भूमिकामा अभिनय गर्दैछिन् ।
आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्मको दुई वटा पोस्टर समेत सार्वजनिक भइसकेका छन् । निर्माण टिमले गत शनिबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ ।
फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्ममा नीता, दीपाश्री बाहेक अन्य कलाकारहरूको नाम भने निर्माण टिमले खुलाएका छैनन् । निर्देशक नीताका अनुसार कलाकार र प्राविधिक टिमबारे जानकारी क्रमशः सार्वजनिक गरिनेछ ।
फिल्मको कथा नीता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् । फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले लगानी गर्नेछन् ।
नीताले पहिलो पटक ‘ह्रस्वदीर्घ’ फिल्ममार्फत निर्माणमा होमिएकी थिइन् । यस पटक भने नीताले ‘पार्वती’ र ‘सुख–दुःख’ फिल्ममार्फत निर्देशनमा पाइला राख्न लागेकी हुन् । वितरण पक्षमा उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, तथा उपत्यकाबाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।