दश वर्षपछि सुदर्शन र प्रदीपको सहकार्यमा ‘शुभ विवाह’

रंग नेपाल २०८२ असार ६ मा प्रकाशित

काठमाडौं । निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ । दश वर्षअघि ‘प्रेमगीत’मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’मा दोस्रो पटक सहकार्य हुन लागेका हो ।

निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन । निर्देशक थापाले दश वर्षअघि फिल्म ‘प्रेमगीत’मा प्रदीपसँगको सहकार्य सफल भएको सम्झिएका छन् । उनले त्यो समयमा प्रेमगीतले धेरै कलाकार तथा प्राविधिकहरु लाई करियरको उचाईमा पुर्‍याएको स्मरण गरे, त्यसमध्ये एक हुन् अहिलेका स्टार नायक प्रदीप खड्का । हुन पनि ‘प्रेमगीत’लाई एउटा उदाहरणिय प्रेमिल चलचित्र मान्न सकिन्छ । यो चलचित्र सबै वर्गका दर्शकहरुको मन जित्न सफल भएको थियो ।

अब निर्देशक थापा र अभिनेता खड्कालाई प्रेमगीतभन्दा सफल चलचित्र बनाएर फेरि एकचोटी दर्शकहरुको मन जित्नुपर्ने चुनौती भने पक्कै छ । त्यसो त प्रेम कथामा आधारित चलचित्र बनाउन निर्देशक थापा सफल पनि छन् भने लभर ब्वाइ भूमिकामा अभिनेता खड्का पनि रुचाईएका छन् । ‘अहिले बन्न लागेको चलचित्र ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो । यो चलचित्रले समाजको मूल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्व लाई चलचित्रमा दर्शाउने छ,’ निर्देशक थापा भन्छन् ।

यो फिल्मका लागि अभिनेत्रीको भने अहिलेसम्म टुङ्गो लागेको छैन । चाँडै नै अभिनेत्री लगायत सम्पूर्ण कलाकार तथा प्राविधिक फाइनल गरी छायांकनमा जाने तयारी गरिएको जानकारी प्राप्त भएको छ । निर्देशक थापाको प्रेमकथामा आधारित सफल निर्देशकीय चलचित्रहरु ‘मेरो एउटा साथी छ’, ‘प्रेमगित’ ‘म यस्तो गित गाउछु’ लगायत हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट