काठमाडौं । निर्देशक कृषा चौलागाईंको जन्मदिन पारेर फिल्म ‘पारस’को निर्माण घोषणा भएको छ । बुधबार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो । यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ ।
उनकै भाई विशाल चौलागाईंको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन् ।
निर्माणपक्षले फिल्मको डिओपी पुरुषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ । यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’र ‘पिताम्बर’मा सहकार्य गरेका थिए । उनीहरुको यो तेस्रो सहकार्य हो । निर्माता विशालको पनि यो टिमसँग तेस्रो नै सहकार्य हो ।
केपी फिल्मस्का ब्यानरमा निर्माण हुने यो फिल्म फागुनबाट छायांकनमा जानेछ । बुधबार साँझ कालोपुल नजिक रहेको एक पार्टी प्यालेसमा फिल्मको घोषणा कार्यक्रममा निर्देशक कृषाले यो फिल्म एक्सनका साथै लभ स्टोरी हुने बताइन् ।
‘पारसको बारेमा भन्नुपर्दा पहिलोपटक नेपालमा आएर सचिन लदिया लेखन कार्य सुरु भएको छ,’ निर्देशक कृषाले फिल्मको बारेमा जानकारी दिँदै भनिन्, ‘यहि हो अहिले जानकारी दिन मिल्ने । पछि भेट्ने फेरि बहानै हुँदैन ।’ यो फिल्मको कलाकार तथा अन्य प्राविधिक पक्षको बारेमा विस्तारै जानकारी दिने निर्देशक कृषाले बताइन् ।
उनले थपिन्, ‘यो फिल्मलाई पुरुषोत्तम दाईले खिच्दै हुनुहुन्छ । मैले निर्देशन गर्दैछु ।’
निर्माता विशाल चौलागाईंले दिदीको जन्मदिनमा फिल्म निर्माणको गर्ने योजना बनाएको बताए । साथै, उनले पिताम्बरमा भएको गल्तीहरु अब निर्माण हुने फिल्म ‘पारस’मा सुधारिने बताए ।
‘अघिल्लो वर्ष हामीले उहाँ (कृषा)लाई गिफ्ट नै दिएको हो । उहाँको सुटिङ हुँदा हुँदै पनि हामीले सेलेब्रेट गरेका थियौँ,’ निर्माता विशालले भने, ‘सबैलाई थाहै छ कस्तो भाको थियो भन्ने ।’ सोही कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अथिति रहेका थिए । उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामनाका साथै नयाँ फिल्मका लागि शुभकामना दिए ।
निर्माणपक्षले यो फिल्मको रिलिज घोषणा भने गरेको छैन । कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐचोपैचो’ हो । जुन समीक्षात्मक हिसावले सफल मानिएको थियो ।