
काठमाडौं । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित चलचित्रको सार्वजनिक पोस्टरले यसको गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झलक दिएको छ ।
पोस्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ उजागर गरिएको छ । मुख्य कलाकारद्वय सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति पोस्टरको केन्द्रमा छ । पोस्टरले संघर्ष, संवेदना र विद्रोहको भाव एकसाथ प्रस्तुत गरेको देखिन्छ ।
मुख्य अभिनेता सम्राट दास पोस्टरमा एकदमै फरक र प्रभावशाली अवतारमा देखिएका छन् । उनको आँखाको भाव, शारीरिक भाषा र क्यारेक्टर लुकले पात्रभित्रको आक्रोश, संघर्ष र जिम्मेवारीलाई जीवन्त बनाएको छ । निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु चलचित्र भए पनि यो भूमिका उनको करियरकै महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ ।
त्यसैगरी, मुख्य अभिनेत्री सुप्रज्ञा शर्माको भावनात्मक प्रस्तुति पनि पोस्टरमा विशेष रूपमा उभिएको छ । उनको अनुहारमा झल्किएको पीडा, प्रेम र भरोसाले कथाको मानवीय पक्षलाई अझ सशक्त बनाएको छ, जसले पोस्टरलाई थप प्रभावशाली बनाएको छ ।
चलचित्रमा सम्राट दास र सुप्रज्ञा शर्मासँगै वीरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बीके, बिके शाह, रामेश बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रका सहनिर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन् । रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा निर्माण गरेको यस चलचित्रका प्रोडक्सन म्यानेजर कमल सुनार हुन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हालेका छन् । चलचित्रको सम्पादन कविर वोडले गरेका हुन् ।
निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको हो । चलचित्रमार्फत मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पुर्याउने योजना रहेको उनले बताए । चलचित्रको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन् ।
निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो चलचित्र बहुभाषिक स्वरूपको रहेको छ । चलचित्रको डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ ।