
काठमाडौं । नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ शुभुमुहूर्त भएको छ ।
मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायांकन थालिएको हो ।
यस फिल्मलाई अभिनेत्री तथा निर्मात्री ढुङ्गानाले निर्देशन गर्दैछिन् । साथै, फिल्मको मुख्य भूमिकामा उनी आफैले रहने छिन् । नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ । यतिबेला सबै कलाकारहरु सुटिङ सेटमा नै रहेको कार्यकारी निर्माता शंकर पाण्डेले जानकारी दिए ।
फिल्ममा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ भने यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन् ।
सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन् । म्युजिक भिडियोमा निकै चर्चामा रहेका उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन् ।
यस फिल्ममा प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे छन् । साथै, निर्मातामा हरिहर अधिकारी छन् । यसअघि निर्माताको नाम निर्माण टिमले गोप्य राखेको थियो । फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ ।
निर्माण टिमले यो फिल्मको प्रदर्शन मिति आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने जानकारी दिइसकेको छ । सोही समयमा नै फिल्म रिलिज गर्ने उदेश्यका साथ काम फटाफट थालिएको निर्देशक ढुङ्गानाले बताइन् । उनका अनुसार यस फिल्मको सुटिङ सेड्युल एक महिना आसपासको रहेको छ ।