हिन्दी गीत ‘साम से ही दिल’मा नेपाली कलाकारको अभिनय

रंग नेपाल २०७९ जेठ १६ मा प्रकाशित

नेपाली कलाकारले अभिनय गरेको हिन्दी भाषाको गीत ‘साम से ही दिल’ भारतको प्रतिष्ठित कम्पनी टी सिरिजको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा सुमन शेखर मानन्धरको स्वर रहेको छ भने इम्तियाज वफाको शब्द तथा संगीत छ ।

नेपालको पर्यटकीय नगरी रारामा छायांकन भएको गीतको भिडियोमा नेपालीहरु कलाकारहरु सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय छ । भिडियोमा राराको सुन्दरतालाई निकै आकर्षक रुपमा देखाइएको छ । गीतको भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट पनि उनकै हो ।

गीत सार्वजनिक कार्यक्रममा संगीतकार तथा गीतकार इम्तियाज वफाले यो गजलले मानिसको हृदय छुने बताउँदै भिडियोका दृश्यले नेपालको पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ने बताए । नेपाली टिमसँग काम गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । अब आफू नेपाली गीतमा पनि काम गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।

त्यस्तै, गायक मानन्धरले हिन्दी र उर्दू समुदायलाई नेपाल भ्रमणमा आकर्षित गर्न यी भाषामा गीत तयार पारिएको जानकारी दिँदै गीतले नेपालको रारा ताल घुम्न आउने हिन्दी र उर्दूभाषी पर्यटकको संख्यामा बढ्ने विश्वास व्यक्त गरे । उनका अनुसार, यो गीत तीन वर्ष लगाएर तयार पारिएको हो । गीत सार्वजनिक कार्यक्रममा कलाकार नीर शाह, निर्माता राजकुमार राई लगायतको उपस्थिति थियो ।

जनकदीप प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्माता गायक मानन्धर स्वयं हुन् । राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतको रेकर्डिङ मुम्बईको कैलाश स्टूडियोमा भएको थियो । ध्रुवराज पराजुलीको सम्पादन रहेको भिडियोका डिओपी अर्जुन तिवारी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट