पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन (तस्वीरहरु)

रंग नेपाल २०७९ पुष १७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर विमानस्थल सञ्चालनमा आएको हो । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बुद्ध एयरको जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो । सोही जहाजबाट पोखरा उत्रिएका प्रधानमन्त्री दाहाललगायतलाई रातो कार्पेट विच्छाएर फूलमाला र पञ्चकन्याले स्वागत गरेका थिए ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ सालमा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरु भएको हो ।

उद्घाटन समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा हेलिकोप्टरमार्फत् पुष्पवृष्टि गरिएको थियो भने विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडानमात्र भएको बताइएको छ । पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान रोकिने छैन् ।

ठूला जहाज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँछन् । मुस्ताङको जोमसोम र मनाङको हुम्देमा पुरानो विमानस्थलबाटै उडान हुनेछ भने हेलिकोप्टर पनि पुरानो विमानस्थलबाटै उडान तथा अवतरण गर्ने बताइएको छ ।

May be an image of 8 people

धेरै पढिएका

पछिल्ला अपडेट