यस वर्ष किम्फ नहुने

रंग नेपाल २०८० जेठ ३ मा प्रकाशित

काठमाडौं । यस वर्ष काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) नहुने भएको छ । किम्फले आफ्नो आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण रोकिएको जानकारी गराएको हो ।

महोत्सवलाई नयाँ ढाँचामा लगेर अघिल्ला वर्षभन्दा अझ राम्रो गर्ने उद्देश्यले यस वर्ष किम्फ केही समयका लागि पछि धकेलिएको संस्थाका अध्यक्ष वसन्त थापाले जानकारी दिए । उनले भने, “अब सबै कुरा नयाँ बन्दै छन् । नयाँ कमिटीले के निर्णय गर्छ त्यही अनुसार हुन्छ । सायद नयाँ कमिटीले नै महोत्सवको मिति पनि तोक्छ होला ।”

अध्यक्ष थापाका अनुसार महोत्सव रोकिए पनि कार्यशाला, प्रशिक्षण, स्व्रिmनिङ जस्ता गतिविधि भने निरन्तर हुने छन् । सन् २००० देखि आयोजना हुँदै आएको किम्फ कोभिड–१९ महामारीका कारण यसअघि पनि प्रभावित भएको थियो ।

यो महोत्सव अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको छाता संस्थाको सदस्यसमेत हो । महोत्सव बर्सेनि डिसेम्बरमा आयोजना हुँदै आएको छ । यद्यपि, सन् २०२४ देखि भने वसन्त ऋतुमा आयोजना गर्ने तयारी भइरहेको बताइएको छ । किम्फले बर्सेनि महोत्सवमा ६० देखि ७० वटा चलचित्र प्रदर्शन गर्दै आएको छ । संसारभरिका चलचित्रहरू किम्फमा प्रदर्शन हुने गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट