बगानमा शिक्षाको महत्व छ : निर्देशक खनाल

रंग नेपाल २०८० असार २२ मा प्रकाशित

काठमाडौं । एकल महिलाको जीवन, संघर्ष र भोगाईमा बनेको चलचित्र ‘बगान’ मा शिक्षाको महत्वलाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए । उनले चलचित्रमा २० मिनेटको हाराहारी शिक्षा र त्यसले जीवनमा पार्ने प्रभाव देखाईएको बताए ।

उनले भने,‘यो चलचित्रमा एकल महिलाको जीवनमा शिक्षाले ल्याउने परिवर्तनलाई देखाएका छौं । चलचित्र आम मानिससम्म पुग्ने सशक्त माध्यम भएकाले मनोरञ्जनसँगै सर्जकको दायित्व निर्वाह गरेका हौँ ।’

उनले हालै निर्माण समूहले आयोजना गरेको कार्यक्रममा एकल महिले आफू शिक्षित भएर आफ्नो सन्तानलाई शिक्षा दिने र त्यसको प्रभाव महसुस हुने समेत बताए । आयोजित कार्यक्रममा सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले महिलाको विभिन्न समस्यालाई विषय बनाएर पर्दासम्म ल्याउन आग्रह गरेकी थिइन्  ।

‘चलचित्रमा नदेखिएको र नसुनिएको महिलाको कथा ल्याउन म समस्त चलचित्रकर्मीलाई आग्रह गर्छु । यहाँ देख्नु भयो भने सहि, गलत र त्यसको परिणामसँग परिचित बन्नुहुनेछ’, अध्यक्ष कोइरालाले भनिन् ।

चलचित्र ‘बगान’ मा मिथिला शर्मा, नीर शाह, प्रमिला कार्की लगायतले अभिनय गरेका छन् । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्  । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट